काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टी-ट्वान्टी क्रिकेटमा नेपालको मिक्स टिमलाई जितका लागि १ सय ९० रनको फराकिलो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनायो ।
एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एड योङले ४२ रन जोड्दा एलेक्स थमप्सन २० रनमा अविजित रहे । नेपालका राशिद खानले तीन विकेट लिए ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएका एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय (फस्ट क्लास) क्रिकेट खेलिसकेको छ ।
तीन दिवसीयमा नेपाल २ सय ८ रनले पराजित भएको थियो । एकदिवसीयमा भने नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।
यस्तै नेपाली यू-१९ क्रिकेट टिमविरुद्धको टी-ट्वान्टीमा एमसीसीले ३८ रनको जित निकालेको थियो ।
टी-ट्वान्टीपछि एमसीसी पोखरा भ्रमणमा जाने छ । त्यहाँ एमसीसीले आमन्त्रण-११ र मुख्यमन्त्री-११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।
