काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ति मगर रहेको माल्दिभ्सको टीसी स्पोर्ट्स क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा लाओसको क्लब योङ इलिफेन्ट एफसीसँग २-१ गोल अन्तरले पराजित हुँदै टीसी बाहिरिएको हो ।
एमए अजिज स्टेडियममा योङको जितमा बोउनफाचन बोउनकोङले दुई गोल गरे । टीसीका लागि मोहमद समीरले एक गोल फर्काए ।
योङविरुद्ध विमल सुरुवाती-११ मै रहेर मैदान उत्रिएका थिए ।
समूह 'ए' मा रहेको टीसीको यो लगातार तेस्रो हार हो । यसअघि टीसी बंगलादेशको चितागोङ अबहानी र भारतको मोहन बगानसँग पराजित भएको थियो ।
यस समूहबाट अबहानी र मोहन बगान सेमिफाइनलमा पुगेको छ ।