एजेन्सी । युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिक्टोरिया स्पोर्ट्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा आर्सनलले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । आर्सनलको जितमा निकोलस पेपेले दुई गोल गरे ।
ग्राबियल मार्टिनेलीले एक गोल थपे । भिक्टोरियाका मार्कुस एडवार्ड र ब्रुनो दुआर्टेले एक एक गोल गरे ।

इमिरेट्स स्टेडियममा खेलको आठौं मिनेटमा मार्कुसले गोल गर्दै भिक्टोरियालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।
खेलको ३६ औं मिनेटमा ब्रुनोले गोल गर्दै पुनः भिक्टोरियालाई २-१ को अग्रता दिलाए । त्यसपछि आर्सनलका पेपे नायक बने । खेलको ८० औं मिनेटमा पेपेले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा पेपेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए ।
जितसँगै समूह 'एफ' को आर्सनलले शतप्रतिशत जितलाई कायम राखेको छ । शिर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिक्टोरिया पुछारमा रहेको छ ।
अर्को खेलमा जर्मन क्लब फ्रान्कफर्टले स्टान्डर्ट लिगेलाई २-१ ले हराएको छ ।

