काठमाडौं । बंगलादेशको महिला फुटबल टिमले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद् (साग) नखेल्ने भएका छन् ।
बंगलादेशको समचार संस्था ढाकाट्रीब्युनले बंगलादेशले साग अन्तर्गत महिला फुटबलको प्रतिस्पर्धाबाट नाम फिर्ता लिएको जनाएको छ ।
सागका लागि प्रयाप्त महिला खेलाडी र तयारी नभएको कारण बंगलादेश फुटबल फेडेरेसनले महिला फुटबलको प्रतिस्पर्धाबाट नाम फिर्ता लिएको ढाकाट्रीब्युनले जनाएको छ ।
ढाकाट्रीब्युनसँग कुरा गर्दै बंगलादेश फुटबल फेडेरेसनका महासचिव आबु नायीम शोबागले खेलाडीहरुको उमेर निकै सानो रहेको र खेलाडीहरु परिपक्व नभएकाले सागमा सहभागिता नजनाउने बताएका छन् ।
‘सिनियर टिममा प्रतिस्पर्धा गर्न केटीहरुलाई बढी परिपक्क हुन दिनुहोस् । हामीसँग सिनियर खेलाडी छैन । त्यसैले जुनियर खेलाडीलाई सिनियर टिमसँग खेलाएर नकारात्मक प्रभाव पर्न दिन्नौं । त्यसैले हामीले हाम्रो महिला टिमलाई सागका लागि पठाउने छैनौँ ।’ उनले भने ।
नेपालमा तय भएको १३ औं साग मंसिर १५ बाट २४ सम्म काठमाडौं र पोखरामा हुनेछ ।
पछिल्लो समय उमेर समूह निकैनै उत्कृष्ट देखिएको बंगलादेशले सिनियर टिम भने उत्कृष्ट बनाउन सकेको छैन । पछिल्लो समय उमेर समूहमा बंगलादेशले नेपाल र भारतलाई राम्रो चुनौती दिदै आएको छ ।
भारतमा सम्पन्न १२ औं सागमा बंगलादेशले कास्य जितेको थियो । बंगलादेशले श्रीलंका र माल्दिभ्सलाई हराउँदा नेपाल र भारतसँग पराजित भएको थियो ।