काठमाडौं। नेपाल एएफसी यु–२३ एसियन कप छनोटको पहिलो हाफमै पछि परेको छ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा घरेलु टोली ताजकिस्तानले १–० को अग्रता लिएको हो। ताजकिस्तानका मुहम्मद अली अजिजबोएभले गोल गरेका हुन्।
खेलको सुरुआती समयदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राखेको थियो। फलत: ३९औं मिनेटमा ताजकिस्तानले नेपालको कमजोर डिफेन्सको फाइदा उठायो। कामोलोभ अमादोनीले कप्तान सुमित श्रेष्ठलाई बिट गर्दै सिक्स यार्ड बक्सनजिकबाट अजिजबोएभलाई कट पास दिएका थिए।
तर, अजिजबोएभलाई मार्क गर्नुपर्ने डिफेन्डर राम थापाले आफ्नो सन्तुलन कायम राख्न सकेनन् र लड्न पुगे। सोही अवस्थामा मिडफिल्डर कृतिशरत्न छुन्जु पनि पछाडि रहँदा अजिजबोएभले सहजै गोल गर्ने अवसर पाएका हुन्।