एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफुले तत्काल सन्यास लिने योजना नरहेको बताएका छन् ।
च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत लोकमोटिभ मस्कोविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डोले आफुले सन्यासबारे कुनै योजना नरहेको बताएका हुन् ।
३४ वर्षीय रोनाल्डोले आफ्नो उमेरसँगै प्रदर्शनमा समेत परिपक्क बन्दै गएको समेत बताए ।
'उमेर भनेको संख्या मात्र हो । यसको मतलब यो हैन कि तपाई ३४,३५ वा ३६ वर्षमा करियरको अन्त्य गर्नुहुन्छ,' रोनाल्डोले भने, 'म आफ्नो प्रदर्शनबाट देखाउन सक्छु । म कसरि खेल्छु, जुन तरिकाले म खेल्छु । म अझै राम्रो महसुस गरिरहेको छु । म खेलबारे सोच्छु, खेलमा अझै परिपक्कता छ । यसले फरक बनाउनेछ । '
स्पेनिस क्लब रियल मड्रिडबाट गत सिजन इटाली पुगेका रोनाल्डोले क्लबबाट च्याम्पियन्स लिग जित्ने चाहना रहेको समेत बताए ।
'हामी सिरी 'ए' उपाधि जित्न चाहन्छौ । हामी च्याम्पियन्स लिग जित्न चाहन्छौ,' हालै करियरको ७ सय गोल पुरा गरेको रोनाल्डोले थपे, 'युभेन्ट्सले ठूलो सोच्नु पर्छ । हामी सबै उपाधि जित्ने प्रयास गरिरहेका छौं । हामीलाई थाहा छ कि यो कठिन हुनेछ । विशेषगरि लिग र च्याम्पियन्स लिग । तर, मलाई लाग्छ यो सम्भव छ । सबै सम्भव छ ।'
च्याम्पियन्स लिग अन्तर्गत युभेन्ट्सले मंगलबार राति मस्कोविरुद्ध घरेलु मैदानमा खेल्नेछ । समूह 'डी' मा रहेको युभेन्ट्सले २ खेलमा ४ अंक जोडेको छ ।