काठमाडौं । तेस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ ।
आयोजक दीपशिखा युवा समूहले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक ३० देखि मंसिर ७ गतेसम्म संचालन हुने जनाएको छ ।
काडमाडौंको नैकापस्थित नैकाप खेल मैदानमा हुने प्रतियोगितामा आयोजकको दुई टिमसहित 'ए' डिभिजनका क्लब गरि ८ देखि १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर नकआउटका आधारमा खेलाईने आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताले ६ लाख ५० हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले ३ लाख ५० हजार पाउने छन् ।
गत संस्करण भन्दा यस पटक पुरस्कार राशिमा ५० हजार वृद्धि गरिएको प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी गराए ।
पहिलो संस्करणको उपाधि हिमालयन शेर्पा र दोस्रो संस्करणको उपाधि भ्याली च्यासल युथ क्लबले जितेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको वर्गीकरणमा 'सी' समूहमा पर्ने चन्द्रागिरी गोल्डकप मोफसलमा हुने सिजनको पहिलो प्रतियोगिता हो ।