काठमाडौं । न्युरोड टिम एनआरटीले मुख्य प्रशिक्षक राजुकाजी शाक्यलाई एक बर्षका लागि अनुबन्धन गरेको छ ।
नयाँ सिजनका लागि शाक्यलाई प्रशिक्षकमा ल्याउने निर्णय गरेको एनआरटीले तत्कालका लागि एक बर्षको सम्झौता गरेको हो ।
'अहिले एक बर्षको सम्झौता गर्ने सहमती भएको छ । विस्तारै सम्झौता थप गर्ने निर्णय होला ।' उनले खेलपाटीसंग भने ।
एक बर्षका लागि सम्झौता गरेका उनले पारिश्रमिक रकम खुलाउन चाहेनन् ।
अघिल्लो सिजन च्यासल युथ क्लब हेरेका शाक्यले ७६ सालको नयाँ सिजन एनआरटीमा जाने निर्णय गरेका हुन् ।
'एनआरटी पनि मेरो पुरानो क्लब हो । छलफल भईरहेको थियो । अहिले सम्झौता भएको छ ।' उनले भने ।
सम्झौता पत्रमा प्रशिक्षक शाक्यसंगै क्लबका अध्यक्ष सुन्दर जोशीले हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय फुटलब टिमका पुर्व कप्तान रहेको शाक्य खेलाडी र प्रशिक्षकको रुपमा साग फुटबल जित्ने कीर्तिमानी फुटबलर हुन् ।
उनीसंग नेपालका ठुला ए डिभिजन क्लब हेरेको अनुभव छ ।
नयाँ सिजन सुरु हुँदै गर्दा एनआरटीले खेलाडी अनुबन्धनलाई प्राथमिकता दिएका छ । एनआरटीले यसअघिनै गत बर्ष मनाङबाट खेलेका प्रकाश बुढाथोकी र बिक्रम धिमाललाई क्लबमा अनुबन्धन गरिसकेको छ ।
'टिम हेरेर राम्रा खेलाडी अनुबन्धन गर्ने योजना छ । सन्तुलित टिम बनाएर लिगमा राम्रो गर्ने उद्वेश्य छ ।' शाक्यले भने, 'क्लबको जोड लिग जित्नै हुनेछ ।'