काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ भोलि (शुक्रबार) भारत जाने भएका छन् ।
यस सिजनका लागि भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित किरण टिममा सामेल हुन त्यसतर्फ जाने भएका हुन् । किरणलाई पन्जाबले गत साउनमा अनुबन्ध गरेको थियो ।
फिफा विश्वकप छनोट अन्तर्गत जोर्डनसँगको खेल खेलेर बिहिबार स्वदेश फर्किएका किरणले नयाँ सिजन अघि टिमको प्रि-सिजन तयारीका लागि भारत जान लागेको बताए ।
'टिम प्रि-सिजनका लागि गोवामा रहेको छ । टिमको तयारीका लागि भोलि म भारत जादैछु,' स्वदेश फर्किएका किरणले खेलपाटीसँग भने । उनले अब विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि मात्र स्वदेश फर्कने बताए ।
भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले किरणलाई दोस्रो पटक अनुबन्ध गरेको हो । किरणले सन् २०१७/१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।