काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा जोर्डनसँग प्रतिस्पर्धा गरेको नेपाली टिम भोलि (बिहिबार) स्वदेश फर्कने भएका छन् ।
घरेलु टिम जोर्डनसँग मंगलबार राति प्रतिस्पर्धा गरेको नेपाली टिम बिहिबार स्वदेश फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाको अनुसार नेपाली टिम बेलुका साढे ६ बजे नेपाल आईपुग्नेछ ।
एकसाता अघि अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेर जोर्डन पुगेको नेपाली टिमले घरेलु टिमसँग ३-० को हार व्यहोरेको थियो । जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक-एक गोल गरे । जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।
त्यसअघि नेपालले अष्ट्रेलियासँग ५-० को हार व्यहोरेको थियो ।
छनोटको समूह 'बी' मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।
यस समूहमा ३ खेलमा अपराजित अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।