काठमाडौं । नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाइज क्रिकेट प्रतियाेगिता वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) भोलि (बुधबार) बाट सुरु हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा क्याट क्विन्स काठमाडौं र चितवन राईनाेजबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीकाे स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको लागि पाँच वटै टिमले आफ्नो तयारी पुरा गरेका छन् । र, पाँच वटै टिम उपाधि जित्ने लक्ष्यमा हुने छन् ।
प्रतियोगिता सुरु हुनुअघि प्रि-म्याच कन्फरेन्समा बोल्दै सबै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताएका छन् ।
पाँच टिमका कप्तान प्रतियोगिताअघि के भन्छन् ?
रुबिना क्षेत्री (कप्तान- क्याट क्विन्स काठमाडौं)

हाम्रो लागि अवसर छ। यो सुरुवात भएको छ । सुरुमा त डर लागिरहेको छ । किनकि पहिलो पटक हामी लाइभ गेम खेल्दै छौँ । हाम्रो लागि समर्थन गर्नु भएकोमा लगानीकर्तालाई धन्यवाद । हामी राम्रो गर्नेछौ, अर्को समय कसैलाई पनि प्रतियोगिता गर्दा गार्हो नहुने गरि प्रतियोगिता सफल पार्नेछौ । २५ दिन देखि तयारी गरेका छौँ । राम्रो भएको छ । भोलिको खेलका लागि तयार छौँ । सबै खेलिरहेका भएर बिपक्षी भन्दा पनि आफ्नो बेस्ट दिन टिमलाई भनेको छु । ओभर कन्फिडेन्ट नभनौ प्रतियोगितामा हाम्रो टिम उपाधि जित्न लायक छ ।
सिता राना मगर (कप्तान- पोखरा पल्टन )

लगानीकर्तालाई धेरै धन्यवाद । मिडियाको समर्थनले क्रिकेट राम्रो भईरहेको छ । निकै उत्साहित छौँ । १२ वर्षपछि लिग हुँदैछ । खुसी छौँ । डब्लुसीएलले महिला क्रिकेट प्रोफेसनल भईरहेको छ ।
आजसम्म डर लागिरहेको छ । लाइभ खेल खेल्दैछौँ । पुरुषको जस्तै हामी पनि खेल्दैछौं । हामी आभारी छौँ । राम्रो तयारी छ । हामी अन्डर डग टिम हौँ । हामी जित्नको लागि खेल्छौं ।
नेरि थापा (कप्तान - ललितपुर फाल्कोन्स)

टिम लगानी कर्तालाई धेरै धन्यवाद । महिला क्रिकेटरलाई हेर्नु भएको छ । महिला खेलाडीले १२ वर्षको अन्तरालमा फ्रेन्चाइज खेल खेल्न पाएका छन् । आउदा पुस्तालाई राम्रो हुन्छ ।
दशैँको कारणले हिजोबाट तयारी गर्यौ, ग्राउन्डले गर्दा आज तयारी गर्न पाएनौ । मेरो खेलाडीमा मलाई विश्वास छ । राम्रो गर्छौ, जित्नको लागि खेल्छौं।
इन्दु बर्मा (कप्तान -चितवन राइनोज)

लामो समयपछि ठुलो क्रिकेट हुन लागेको छ । खुसी लागेको छ । हाम्रो तयारी राम्रो छ । टिम राम्रै छ जस्तो लाग्छ । जित्नको लागि खेल्छौं । ब्याटिङ बलिङ दुबै राम्रो छ ।
सरिता मगर (कप्तान - विराटनगर टिटान्स)

आउने दिनमा पनि महिला टिमलाई यसरी नै समर्थन गर्नुहोला । प्रतियोगिताको लागि निकै उत्साहित छौँ । उपाधि जित्ने लक्ष्यसहित तयारी गरेका छौँ ।