दार्चुला । ब्यास र दुहुले दार्चुलामा जारी पहिलो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेटमा जित निकालेका छन् ।
सकार क्रिकेट मैदानमा सोमबार ब्यासले महाकाली-०६ लाई ६ विकेटले पराजित गर्यो ।
महाकालीले दिएको १२२ रनको लक्ष्य ब्यासले १४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । ब्यासका लागि रुप सिंहले ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यसअघि पहिले ब्याटिङ गरेको महाकालीले १५ ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो । महाकालीका लागि अदन बहादुर पलले २८ रन बनाए । ब्यासका दिपेन्द्र बोहराले ४ विकेट लिए ।
यस्तै अन्य खेलमा दुहुको दुवै टिमले जित निकालेका छन् ।
दुहु-०२ ले शान्तिदिप युवा क्लब 'बी' लाई ८ विकेटले पराजित गर्यो । शान्तिदिपले दिएको १०८ रनको लक्ष्य दुहुले ६ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । दुहुका लागि जनक बादलले ३७ तथा पुस्कर बादलले ३२ रन बनाए ।
यस अघि अजिब धामीले ४३ रन बनाएपछि शान्तिदिपले १५ ओभरमा ९ विकेट गुमाएर १०७ रन बनाएको थियो । दुहुका करण र भुपेन्द्रले २/२ विकेट लिए ।
त्यस्तै दुहु-०३ ले मालिकार्जुन-०३ लाई ६५ रनले हराएको छ । दुहुले दिएको १७१ रनको लक्ष्य पछ्याएको शान्तिदिपले १२ ओभरमा अलआउट हुँदै १०५ रन मात्र बनायो ।
दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदिप युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । नकआउटका आधारमा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय १ रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ६ हजार ५ सय नगद प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदयमान खेलाडीलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।