काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड जाने टोलीको बिदाइ गरेको छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामा लगायतले मंगलबार बिदाइ गरेका हुन् । स्कटल्यान्ड जानुअघि नेपालले बेलायतको स्थानीयन टोलीसँग अभ्यास खेल खेल्नेछ। यस्तै, लिग–२ स्टकल्यान्डको ‘ए’ टोलीसँग पनि अभ्यास खेल खेल्ने तय छ।
क्यानका अनुसार टोली मंगलबार साँझ ६ बजे बेलायत प्रस्थान गर्नेछ। बिदाइ कार्यमक्रममा मुख्य प्रशिक्षक स्टुअर्ट ल र कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् ।
क्यानका सचिव खड्काले स्टुअर्ट व्यक्तिगत कारणले बेलायत गइसकेको जानकारी दिएका छन्। उनी त्यहीबाट टोलीमा जोडिने छन्। रोहितको भने परीक्षा चलिहरेका कारण दुई दिन पछि मात्रै बेलयत जाने उनले जानकारी दिए।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उप कप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल