काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजनमा हेर्न पाईने भएको छ ।
विश्वकप छनोटको दोस्रो चरणमा बिहिबार हुने नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजन अन्तर्गत एनटीभी प्लसले देखाउने पक्का भएको हो ।
नेपालले विश्वकप छनोटको तेस्रो खेलमा अष्ट्रेलियासंग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
अष्ट्रेलियाको फुटबल संघले दक्षिण एसियामा खेलको प्रत्यक्ष प्रशारण गर्ने अधिकारी आईएमजी ग्रुपलाई दिएको थियो ।
नेपाल टेलिभिजनले नेपालभर प्रत्यक्ष प्रशारण गर्ने अधिकार आईएमजी ग्रुपसंग लिएको हो ।
छनोट अन्तर्गत अवे खेल खेल्न नेपाली टिम अष्ट्रेलियामा छ । सिड्न हुदै नेपाली टिम मंगलबार राजधानी क्यानबेरा पुगेको छ ।
सिड्नीमा एक साता लामो अभ्यास गर्दै फुटबल टिम क्यानबेरा पुगेको हो ।
सिड्नीको तुलनामा निकै चिसो मौसम रहेको क्यानबेरामा नेपाली खेलाडीले नियमित अभ्यास गरेका छन् ।
फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले टिमको तयारी उत्कृष्ट रहेको बताएका छन् ।
नेपालले यसअघि कुवेत र चाईनिज ताईपेसंग अवे म्याच खेलिसकेको छ । कुवेतसंग ७–० को हार ब्यहोरेको नेपालले ताईपेलाई २–० ले हराएको थियो ।