काठमाडौं । तेस्रो संस्करणको यू–१५ महिला साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज (बुधबार) भारतसंग प्रतिस्पर्धा गर्दैछ ।
भुटानको थिम्पुमा हुने च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बलियो टिम भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल चाम्लिङथाङ रंगशालामा नेपाली समय अनुसार २:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । किनकी अघिल्ला दुई संस्करणमा उत्कृष्ट प्रर्दशन गर्न नसकेको नेपालले तेस्रो संस्करणमा भने उपाधि जित्ने लक्ष्य बनाएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले नेपाली टिम बलियो रहेकाले भारतलाई चुनौती दिने बताएका छन् । नेपाली टिमकी कप्तान प्रीति राईले भारतविरुद्ध शतप्रतिशत खेल्ने बताएकी छिन् ।
भारतपछि नेपालले असोज २४ गते बंगलादेश र २६ गते भुटानसंग खेल्नेछ ।
प्रतियोगिता नेपाल सहित, भारत, भुटान र बंगलादेश गरि चार टिम सहभागी छन् ।
सबै टिमले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सन् २०१७ मा सुरु भएको प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।