एजेन्सी । वेल्सका अन्तराष्ट्रिय स्टार ग्यारेथ बेलले क्लब छाड्न चाहेको खुल्न आएको छ ।
प्रशिक्षक जिनेदिन जिदानसंग असन्तुष्ट रहदै आएका वेल्सका फरवार्ड क्लब छाड्ने निष्कर्शमा पुगेका हुन् ।
प्रशिक्षकको व्यवहारबाट दिक्क भएका उनी पछिल्लो समय क्लबप्रति निकै असन्तुष्ट छन् ।
बेल नयाँ गन्तव्यको रुपमा तीन बर्षका लागि चाईनिज सुपर लिग क्लब जियाङ्सु सुनिङ जाने तयारी गरेका थिए । उनलाई हप्ताको १ मिलियन पाउण्डको प्रस्ताव गरिएको थियो । तर रियलले सरुवा रकमको माग गर्दै चिनियाँ प्रस्तावलाई अस्विकार गरेको थियो ।
गत जुलाईमा रियल प्रशिक्षक जिदानले बेलले चाँडै क्लब छाड्ने बताएका थिए ।
वेल्स स्टारका एजेन्ट जोनाथन वर्नेटले जिदानले बेलमाथि अनादर गर्ने गरेको उल्लेख गर्दै उनले रियलमा उचित स्थान पाउनुपर्ने बताएका थिए ।
बेलले रियल मड्रिडमा रहदाँ चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे र तीन युईएफए सुपर कप र क्लब विश्वकप जितेका थिए । उनले रियलका लागि सय भन्दा बढी गोल गरेका छन् ।
चिनियाँ क्लब जाने तयारी रद्व भएपछि बेललाई प्रि सिजन खेलमा समावेश गरिएको थियो ।
अन्तिममा उनलाई रियलको टिममा समावेश गरिएको थियो । उनले पछिल्ला ७ खेलमा दुई गोल समेत गरेका छन् ।
तर उनलाई च्याम्पियन्स लिग खेल्ने पछिल्लो टिमबाट बाहिर राखिएको थियो । रियलले च्याम्पियन्स लिग फुटबलको समुह चरणको खेलमा क्लब ब्रुगिससंग खेलेको थियो ।
सो खेलमा बेल टिम बाहिर थिए ।
'बेल दिक्क भईसकेका छन् ।' बीबीसीको फुटबल पत्रकार गुइल बालगुएरले भनेका छन्, 'उनी लामो समय जादैनन् । उनी यस्तो समयमा बाहिर रहे, जुन समय उनी म्याच खेल्नका लागि पुरै फिट छन् । अब उनी बाहिर बसेर ब्रुगिसविरुद्वको खेल हेर्न परेको छ । कसैलाई थाहा छैन किन भनेर ।'
'उनी रिसाएका छन् । दोधारमा छन् । जब जिदान क्लबमा फर्किए, उनले बेल चाहिदैन भने । बिना कुनै स्पष्ट कारण ।' बालगुएरले भने, 'बेलले जिदानसंग व्यवसायीक सम्बन्ध चाहेका छन् ।'
बेलका एजेन्ट जोनाथनले अन्य विकल्पको बिषयमा समेत छलफल गरेका थिए । तर बेलले रियलमै रहने अडान लिएका थिए ।