एजेन्सी । फ्रान्सेली क्लब लियोनले मुख्य प्रशिक्षक सुविन्होलाई बर्खास्त गरेको छ ।
नयाँ सिजन खराब सुरुवात गरेका ब्राजिली प्रशिक्षक सुविन्होलाई क्लब बर्खास्त गरेको हो ।
उनले सबै प्रतियोगिताका पछिल्ला नौ खेलमा मात्र एकमा जित निकालेका थिए ।
ब्राजिली प्रशिक्षकले पहिलो सिजनमा निकै उत्कृष्ट सुरुवात गरेका थिए । उनले मोनाकोलाई ३–० र एङ्गर्सलाई ६–० ले हराउँदै पहिलो सिजनमा प्रभावशाली जित आत्मसाथ गरेका थिए ।
लियोन जारी सिजनमा घरेलु लिगमा प्रभाव जमाउन असफल छ । तर उसले च्याम्पियन्स लिगमा भने जर्मन क्लब आरबी लिपजिगमाथि २–० को जित निकालेको थियो ।

क्लबले सहायक प्रशिक्षक जेराल्ड बटिकलले टिमको नेतृत्व गर्ने पुष्टि गरेको छ ।
गत आईतबार भएको खेलमा सेन्ट ईटियनसंग १–० ले पराजित भएपछि लियोनले प्रशिक्षक बर्खास्त गरेको हो ।
पछिल्लो नतिजा अनुसार लियोन फ्रेन्च लिगको १४ औ स्थानमा रहेको छ । उसले ९ खेलबाट मात्र ९ अंक जोडेको छ ।
क्लब रेलिगेशन जोन भन्दा मात्र तीन स्थान माथि छ ।
लियोन शीर्ष स्थानको पीएसजी भन्दा १२ अंकले पछाडी छ ।
गत सिजन लियोनले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । क्लबले पीएसजी पछि लिगमा सबै भन्दा धेरै गोल गरेको थियो ।