एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) विभिन्न पाँच खेल हुँदैछ । ला लिगामा आइतबार साविक विजेता बार्सिलोना, एट्लेटिको मड्रिड, सेभिया लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
बार्सिलोनाले घरेलु मैदानमा सेभियाको आथित्यता प्रदान गर्नेछ । बार्सिलोना र सेभियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा मैदान उत्रदा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी घटाउने योजनामा हुनेछ । बार्सिलोना ७ खेलमा १३ अंक जोडेर चौंथो स्थानमा छ । रियलको १८ अंक रहेको छ ।
यता, छैटौं स्थानको सेभिया पनि बार्सिलोनालाई हराएर शीर्ष तीनमा उक्लन चाहन्छ । सेभियाको १३ अंक रहेको छ ।
ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले रियल भालाडोलिटसँग खेल्नेछ । तेस्रो स्थानको एट्लेटिको जित निकाल्दै रियलसँगको अंक दुरी कम गर्न चाहन्छ । एट्लेटिकोको १४ अंक रहेको छ ।
यस्तै स्पानियोलले मालोर्का, सेल्टा भिगोले एथ्लेटिको बिल्बाओ र रियल सोसिडाडले गेटाफेसँग खेल्नेछ ।