एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न चार खेल संचालन हुँदैछ । लिगमा आइतबार म्यानचेस्टर सिटी, आर्सनल, चेल्सी, म्यानचेस्टर युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
साविक विजेता सिटीले घरेलु मैदानमा वुल्भ्सको सामना गर्नेछ । सिटी र वुल्भ्सबीचको खेल बेलुका ६:४५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा मैदान उत्रदा सिटी वुल्भ्सलाई हराउँदै शीर्ष स्थानको लिभरपुलमाथि दबाब सिर्जना गर्न चाहन्छ । दोस्रो स्थानको सिटीको ७ खेलमा १६ अंक छ । लिग लिडर लिभरपुलको २४ अंक रहेको छ ।
वुल्भ्सलाई हराएमा सिटीले लिभरपुलसँगको अंक दुरी घटाउने छ । ७ खेलमा ७ अंक जोडेको वुल्भ्स १५ औं स्थानमा छ । तर, घरेलु टोलीमाथि अप्रत्यासित नतिजा निकाल्दै वुल्भ्स अंक तालिका सुधार गर्न चाहन्छ ।
यस्तै आर्सनलले घरेलु मैदानमा बर्नेमाउथको सामना गर्नेछ । छैटौं स्थानको आर्सनल जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
चेल्सीले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्दैछ । त्यस्तै म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडसँग उसैको मैदानमा खेल्नेछ ।