एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ ।
शनिबार भएको खेलमा रियलले ग्रानडालाई ४-२ गोल अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रीगेजले एक एक गोल गरे ।
ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एक एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा हजार्डले गोल गर्दै रियलको अग्रता २-० को बनाए । यसै सिजन क्लब आएका हजार्डले रियलका लागि पहिलो गोल गरेका हुन् ।

खेलको ६१ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए । ६९ औं मिनेटमा ग्रानडाका डार्विनले पेनाल्टीमा गोल गर्दै खेल ३-१ मा ल्याए । खेलको ७७ औं मिनेटमा ग्रानडाका डोमिन्गोसले गोल गर्दा खेल ३-२ को स्थितिमा पुग्यो ।
तर, खेलको ९० औं मिनेटमा रोड्रीगेजले गोल गर्दै रियललाई ४-२ को जित दिलाए ।


जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलमा १८ अंक जोडेको छ । रियलको यो पाँचौ जित हो ।
पराजित ग्रानडा ८ खेलमा १४ अंक जोडेर दोस्री स्थानमा छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा लेभान्टेले लेगानेसलाई २-१ ले हराएको छ ।