काठमाडौं । तेस्रो संस्करणको साफ यू–१५ महिला फुटबल च्याम्पियनसिप बुधबारबाट भुटानमा सुरु हुँदैछ । च्याम्पियनसिपमा नेपालले समेत सहभागिता जनाउदैछ ।
थिम्पुमा हुने च्याम्पियनसिपको लागि नेपाली टिम सोमबार भुटान प्रस्थान गर्ने छन् । च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई अखिल नेपाल फुटबल (संघ) एन्फाले शुक्रबार विदाई गरिसकेको छ ।
अघिल्ला दुई संस्करणमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको नेपाली टोलीले यस संस्करणमा भने उपाधि जित्ने लक्ष्य बनाएको छ । सन् २०१७ मा भएको पहिलो संस्करणको उपाधि बंगलादेशले जितेको थियो । गत संस्करणको उपाधि भने भारतले जितेको थियो ।
तेस्रो संस्करणमा भने नेपाल पहिलो पटक उपाधि हात पार्ने दाउमा हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले टिमले यस पटक राम्रो तयारी गरेको र उपाधि जित्ने लक्ष्य रहेको बताए ।
‘तयारी राम्रो भएको छ । सबै पढ्ने विद्यार्थी भएकाले ४०–४५ दिन मात्रै तयारी गर्न पायौं । मैले जे सिकाएको छु, त्यो उनीहरुले सिकेका छन् । त्यसैले पनि मलाई सजिलो भएको छ,’ राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका प्रशिक्षक श्रेष्ठले भने, ‘हाम्रोमा यू – १५ प्रतियोगिता धेरै हुँदैन । तर, पनि उनीहरुले गरेको प्रदर्शन हेर्ने हो भने धेरै राम्रो गरेका छन् । उत्साह जागेको छ । हामीले राम्रो गर्न सक्छौं ।’
भुटानमै भएको दोस्रो संस्करणको साफमा नेपालले चौंथो स्थान हासिल गरेको थियो । सेमिफाइनलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको थियो । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल भुटानसँग पेनाल्टीमा पराजित भएको थियो ।
गत संस्करणको प्रतियोगिता खेलेका टिम कप्तान प्रिति राई सहित ११ खेलाडी अहिलेको टिममा छन् । जसले गर्दा टिमलाई थप हौसला पुग्ने प्रशिक्षक श्रेष्ठको विश्वास छ ।
‘हामीसँग यस अघि प्रतियोगिता खेलिसकेका ११ जना खेलाडी छन् । अहिलेका नयाँ खेलाडीहरु पनि धेरै राम्रा छन् । प्रिति अनुभबी खेलाडी हो । उसको साथले टिमलाई झन उत्साह दिनेछ,’ प्रशिक्षक श्रेष्ठले भने ।
अनुभवी खेलाडी रहेको कारण यस पटकको टिम बलियो रहेको र फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने प्रशिक्षक श्रेष्ठ बताउछन् ।
‘हाम्रो सबै पक्ष बलियो छ । खेलाडीहरु स्किल फुल छन् । फुटबलको सेन्स बुझेका छन् । राम्रो गर्न सक्ने देखेका छौं,' प्रतियोगिताका सबै टिम बलियो रहेको र कसैलाई पनि हल्का रुपमा नलिने बताउँदै श्रेष्ठले भने, ‘हामीले कसैलाई पनि सामान्य लिनुहुन्न । राउण्ड रोविन प्रतियोगिता हो । सबै खेल जित्नको लागि राम्रो खेल खेल्नुपर्छ त्यहि अनुसार प्लानिङ बनाउएका छौं । पहिला फाइनल पुग्ने खेल्छौं । त्यसपछि उपाधि ।’
नेपालले प्रतियोगिताको सुरुवात भारतसँग खेल्दै गर्नेछ । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । नेपालले असोज २२ गते भारतको सामना गर्दा २४ गते बंगलादेश र अन्तिम खेल २६ गते भुटानको सामना गर्नेछ ।
यस्तै नेपाली टोलीका कप्तान प्रिती राईले टिमको तयारी धेरै राम्रो भएको कारण उपाधि हात पार्ने बताईन् ।
‘टिमको तयारी पहिलेको भन्दा धरै राम्रो भएको छ । फिल्डमा खेलाडीले धेरै राम्रो गरेका छन् । टिमवर्क राम्रो छ । अवश्य पनि हाम्रो लक्ष्य उपाधि जित्ने हो,’ उनले भनिन् ।
आगामी १३ औं सागको बन्द प्रशिक्षणमा समेत रहेकी प्रितीले टिमको मिडफिल्ड लाईन निकै बलियो रहेपनि खेलाडीमा अनुभवको कमि रहँदा केहि कठिन हुने बताईन् ।
‘हामीसँग त्यस्तो अनुभवी खेलाडी पनि कोहि छैन । हामीलाई मैत्रीपूर्ण खेलको आवश्यकता थियो । हामी भन्दा ठुला टिमसँग खेल्न पाएको भए झनै राम्रो हुन्थ्यो । प्रतियोगिता अघि हामीले कुनै मैत्रीपूर्ण खेल खेल्न पाएनौं । सिधै विपक्षीसँग गएर खेल्दा गाह्रो हुन्छ,’ उनले थपीन् ।