एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इन्ग्लिश क्लब चेल्सीले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिली ओलम्पिक स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले हराएको छ ।
लिलीको मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम र विलियनले एक एक गोल गरे । लिलीका भिक्टर ओसिम्हेनले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको २२ औं मिनेटमा अब्राहमको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । ३३ औं मिनेटमा भिक्टरले गोल गर्दै लिलीलाई खेलमा फर्काए ।

तर, खेलको ७८ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
जितसँगै समूह 'एच' को चेल्सीले २ खेलमा ३ अंक जोडेको छ । चेल्सीको यो पहिलो जित हो । चेल्सी तालिकाको दोस्रो स्थानमा छ ।
पराजित लिली अंक विहीन रहदै पुछारमा रहेको छ ।
यस समूहमा ६ अंक जोडेको आयाक्स शीर्ष स्थानमा रहदा ३ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ ।
