काठमाडौं । मान बहादुर तामाङ र त्रिदेभ गुरुङ 'ए' डिभिजन क्लब थ्री स्टारमा आएका छन् । बंगलादेशमा आयोजना हुने शेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि थ्री स्टारले दुई खेलाडीलाई टिममा राखेको हो ।
बंगलादेश फुटबल फेडेरेसनले आयोजना गर्न गईरहेको तेस्रो संस्करणको प्रतियोगिता कात्तिक २ देखि १३ गतेसम्म चितागोङमा हुदैछ ।
प्रतियोगिता खेल्न थ्री स्टारले हिमालयन शेर्पा क्लबका डिफेन्डर मान बहादुर र मिडफिल्डर त्रिदेभलाई क्लबमा अनुबन्धन गरेको हो ।
गत बर्ष हिमालयन शेर्पाले लिगमा सातौं स्थान हासिल गर्दा मान बहादुर कप्तान थिए । उनले शेख कमल खेल्न मात्र थ्री स्टारमा आएको खेलपाटीलाई बताए ।
‘यो प्रतियोगिता मात्र थ्री स्टारबाट खेल्छु । लिग बारे सोचेको छैन ।’ उनले भने ।
यसअघि क्लबमा रहेका राष्ट्रिय टिमका खेलाडी विश्वकप छनोटको खेलमा ब्यस्त भएकाले थ्री स्टारले खेलाडी अनुबन्धन गरेको भने छैन ।
तर लिगमा क्लबबाट खेलेका खेलाडीलाई समावेश गर्दै टिम बनाउने थ्रीस्टारको तयारी छ । गत सिजन थ्री स्टारबाट लिग खेलेका रन्जन बिष्ट भने दैनिक प्रशिक्षणमा क्लबमै रहेका छन् ।
गत संस्करणमा भएको प्रतियोगितामा नेपालबाट मनाङ मस्र्याङ्दी क्लबले प्रतिस्पर्धा गरेको थियो । मनाङ सेमिफाइनलबाट अगाडी बढ्न सकेन ।
तेस्रो संस्करणको प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र बंगलादेश सहित ८ टिमको सहभागीता रहनेछ ।
प्रतियोगितामा नेपालको थ्री स्टारसहित बंगलादेशको चितागोङ अबहानी, बसुन्धरा किङ्स, ढाका अबहानी, भारतको मोहन बगान, मोहमादेन स्पोर्ट्स क्लब र माल्दिभ्सको टीसी स्पोर्ट्सले प्रतिस्पर्धा गर्ने छन् ।