काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू-१९ फुटबल टिमको मुख्य प्रशिक्षक चयन गरेको छ ।
एन्फाले बुधबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । यू-१८ का मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षक पदबाट राजीनामा दिएपछि एन्फाले केसीलाई प्रशिक्षक नियुक्त गरेको हो ।
नेपालमा सम्पन्न साफ यू-१८ च्याम्पियनसिपमा खराब प्रदर्शन गरेपछि प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका थिए ।
केसी थ्री स्टार क्लबका मुख्य प्रशिक्षक समेत रहेका छन् । उनले नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
एन्फाको टेक्निकल कमिटीले सचिवालयलाई मुख्य प्रशिक्षकका लागि केसीसँगै छिरिङ लोप्साङलाई सिफारिस गरेको थियो । यस्तै एन्फाले यू-१९ टिमको सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षक भने तय गरेको छैन ।
केसीको प्रशिक्षणमा नेपालले एएफसी यू-१९ छनोट खेल्नेछ । इरानमा आगामी नोभेम्बर ६ बाट हुने छनोटमा नेपाल समूह 'डी' मा रहेको छ ।
नेपालले छनोटमा आयोजक इरान, युएई र किर्गीस्तानसँग खेल्नेछ ।