काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।
इन्डियन एसोसियसनको मैदानमा नेपालविरुद्ध सिंगापुरले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्नेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
यस्तै नेपाल घरेलु टिमसँग दुई महिनाअघि सिंगापुरमै भएको आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।
एसिया छनोटमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको थियो । जसको कारण नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।
यता, सिंगापुर पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । यस्तै सिंगापुर नेपालमाथि पुनः जित निकाल्न चाहन्छ ।
डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ ।
सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ ।