काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आइतबार हुँदैछ । उपाधिका लागि भारत र बंगलादेश मैदान उत्रने छन् ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुने छन् । र, तेस्रो संस्करणमा च्याम्पियन बन्ने नयाँ टिम थपिनेछ ।
अघिल्ला दुई संस्करणको उपाधि नेपालले जितेको थियो । घरेलु मैदानमा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले आइतबार साफ यू-१८ ले च्याम्पियन बन्ने नयाँ राष्ट्र पाउने छन् ।
नयाँ च्याम्पियन बन्न भारत र बंगलादेश तयार समेत छन् । सेमिफाइनलमा शानदार जित निकाल्न सफल दुवै टिमलाई उपाधिका मुख्य दाबेदार मानिएका छन् । दुवै टिमले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
'प्रतियोगिता निकै रोमान्चक रह्यो । पहिलो खेल नै महत्वपूर्ण थियो । र, हामी योग्य पनि थियौं । फाइनलका लागि उत्साहित छौँ,' भारतका मुख्य प्रशिक्षक फ्लोरिन पिन्टोले फाइनल अघिको प्रि म्याच कन्फरेन्समा भने, 'हरेक खेलमा हामीले सुधार गर्दै लगेका छौं । हामी फाइनलमा रमाउने छौँ ।'
भारतले समूह चरणमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई ३-० ले हराएको थियो । सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४-० ले हराएको थियो । त्यसैले भारत फाइनलमा उच्च मनोबलका साथ मैदान उत्रने छ ।
तर, भारतलाई पहिलो रोजाईको गोलकिपर तथा नियमित कप्तानको अनुपस्थिति खड्कने छ ।
'कप्तान भोलि पनि खेल्ने छैनन् । तर, तयारी राम्रो छ । शरीरिक रुपमा उनीहरु बलिया छन् । हामी फरक तरिकाले खेल्नेछौँ,' प्रशिक्षक पिन्टोले थपे ।
पहिलो रोजाईका गोलकिपर प्रभ्सुखान सिंह समूह चरणको पहिलो खेलमा घाइते भएका थिए । उनको अनुपस्थितिमा जितेन्द्र सिंहले भारतको कप्तानी गर्ने छन् ।
बंगलादेशले समूह चरणमा श्रीलंकालाई ३-० ले नै हराएको थियो । समूह चरणमा भारतसँग बराबरी खेलेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ४-० को फराकिलो जित निकालेको थियो ।
भारतविरुद्ध उपाधिका लागि मैदान उत्रदा बंगलादेश अघिल्ला खेलको नतिजा कायम राख्दै च्याम्पियन बन्न चाहन्छ ।
'हामीले फाइनलका लागि योजना बनाएका छौँ । सबै खेलाडी पूर्ण फिट छन् र खेलाडीमा प्रतिस्पर्धा गर्ने मानसिकता छ,' बंगलादेशका मुख्य प्रशिक्षक एन्ड्रयु पिटर टर्नरले भने, 'सबै खेलाडीमा उपाधिको भोक छ । हामी यस क्षणलाई सम्झन लायक बनाउने छौँ ।'
यस्तै प्रशिक्षक एन्ड्रयुले भारत बलियो टिम रहेको कारण उपाधिका धेरै आत्मविश्वासी नरहेको समेत बताए ।
'हामी आत्मविश्वासी छौँ तर धेरै हैन । कीनकी हामीले भारतलाई आदर गर्नु पर्छ,' प्रशिक्षक एन्ड्रयुले थपे ।
भारत र बंगलादेशबीचको फाइनल खेल २:३० मा सुरु हुनेछ । त्यसअघि बिहान १० :३० मा एन्फा कम्प्लेक्समा भुटान र माल्दिभ्सबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।