एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेल हुँदैछ । जसमा साविक विजेता बार्सिलोना, रियल मड्रिड लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
बार्सिलोनाले गेटाफेसँग उसैको मैदानमा खेल्दैछ । गेटाफे र बार्सिलोनाबीचको खेल नेपाली समय अनुसार ७ : ४५ मा सुरु हुनेछ ।
यस सिजन खराब लयबाट गुज्रिरहेको बार्सिलोना गेटाफेलाई हराउँदै शीर्ष पाँचमा फर्कन चाहन्छ । तर, कप्तान लियोनल मेस्सीबिना मैदान उत्रने बार्सिलोनालाई कठिन भने हुनेछ । मेस्सी चोटका कारण टिम बाहिर छन् ।
लिगको ६ खेलमा १० अंक जोडेको बार्सिलोना सातौं स्थानमा छ । गेटाफे ७ अंक जोडेर दशौँ स्थानमा छ । तर, गेटाफे घरेलु मैदानमा दोस्रो जितको खोजीमा छ । जसका लागि बार्सिलोनालाई शिकार बनाउन चाहन्छ ।
ला लिगा अन्तर्गत शनिबार राति मड्रिड डर्बी भिडन्त हुँदैछ । लिग लिडर रियल मड्रिड र तेस्रो स्थानको एट्लेटिको मड्रिडबीचको खेल राति १२:४५ मा सुरु हुनेछ । खेल एट्लेटिकोको मैदानमा हुनेछ ।
घरेलु मैदानमा रियललाई हराएर एट्लेटिको शीर्ष स्थान कब्जा गर्न चाहन्छ । तर, रियल एट्लेटिकोलाई हराउँदै आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।
रियलले ६ खेलमा ४ जितसहित १४ अंक जोडेको छ । एट्लेटिकोको १३ अंक छ ।
अन्य खेलमा एथ्लेटिको बिल्बाओले भ्यालेन्सियाको सामना गर्दा ग्रानडाले लेगानेससँग खेल्नेछ ।