एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न आठ खेल हुँदैछ । प्रिमियर लिगमा शनिबार लिग लिडर लिभरपुल, साविक विजेता म्यानचेस्टर सिटी, चेल्सी लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
उपाधि दाबेदार लिभरपुलले सेफिल्ड युनाइटेडसँग खेल्नेछ । सेफिल्डको मैदानमा हुने खेल साँझ ५:१५ मा सुरु हुनेछ । सेफिल्डविरुद्ध मैदान उत्रदा लिभरपुल आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।
लिगमा ६ खेलमा ६ जित निकालेको लिभरपुल अपराजित टिम हो । १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ८ अंक जोडेको सेफिल्ड १० औं स्थानमा छ ।
साविक विजेता सिटीले एभर्टनको सामना गर्नेछ । राति १० :१५ मा सुरु हुने खेल एभर्टनको मैदानमा हुनेछ ।
एभर्टनविरुद्ध मैदान उत्रदा सिटी सहज जितको खोजीमा हुनेछ । यस्तै सिटी लिग लिडर लिभरपुलसँगको अंक दुरी कम गर्न चाहन्छ । लिभरपुल भन्दा सिटी पाँच अंकले पछि छ । दोस्रो स्थानको सिटीको १३ अंक छ ।
एभर्टन भने घरेलु मैदानमा सिटीलाई स्तब्ध बनाउने योजनामा हुनेछ । एभर्टन ७ अंक जोडेर लिगको १४ औं स्थानमा छ ।
चेल्सीले घरेलु मैदानमा ब्राइटनको सामना गर्नेछ । घरेलु मैदानमा जित निकाल्दै चेल्सी शीर्ष पाँचमा पुग्न चाहन्छ ।
यस्तै टोटेनहमले साउथह्याम्पटनको सामना गर्नेछ ।
अन्य खेलमा बर्नेमाउथले वेष्ट ह्याम, एस्टन भिल्लाले बर्नेली, क्रिस्टलले नर्विच र वुल्भ्सले वाट्फोर्डको सामना गर्नेछ ।