काठमाडौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता कात्तिक तेस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता कात्तिक तेस्रो साताबाट सुरु हुने जनाएको छ । पहिलो संस्करणमा सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता कात्तिक २६ गतेबाट मंसिर ७ गतेसम्म हुनेछ ।
पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
पहिलो संस्करणको उपाधि पाेखरा पल्टनले जितेको थियो । गत संस्करणको विजेताले २७ लाख प्राप्त गरेको थियो । उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको थियो ।
यस संस्करणको विजेता र उपविजेताले पाउने रकम भने खुलाईएको छैन ।