काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले बराबरी खेलेको छ ।
साविक विजेता समेत रहेको नेपालले शुक्रबार भएको उद्घाटन खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको हो ।
एपीएफको हलचोक मैदानमा सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो । नेपालको बराबरीमा मनिष डाँगी नायक बने ।
कोरियाली एकेडमीमा हुर्किएका मनिषले खेलको ७५ औं मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाएका हुन् । उनले बृजेश चौधरीको पासलाई सदुपयोग गरेका थिए । मनिषको यो नेपालका लागि डेब्यु खेलमा डेब्यु गोल समेत हो ।

त्यसअघि खेलको १३ औं मिनेटमा माल्दिभ्सले गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । नेपालका रोशन दोङले डिबक्स भित्र फल गरेपछी पाएको पेनाल्टीमा माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए ।
माल्दिभ्सविरुद्ध बल पोजिसनमा पकड जमाएको नेपाल फिनिसिङमा चुकेको थियो । जसको कारण नेपाल सहज जित निकाल्नबाट बन्चित भयो ।
पहिलो हाफको तेस्रो मिनेटमा मनिषले गरेको गोल अफसाइड हुँदा नेपालले अग्रता बनाउन चुकेको थियो । यस्तै बृजेश चौधरी, कप्तान जया गुरुङको केहि उत्कृष्ट प्रहार माल्दिभ्सका गोलकिपरले बचाउ गरेका थिए ।
दोस्रो हाफमा भने नेपालले लगातार आक्रमण बुन्यो । तर, नेपालले एक गोल मात्र गर्न सफल भयो । नेपालको केहि उत्कृष्ट प्रहार पोस्ट बारमा लागेर फर्किएको थियो । केहि प्रहारमा माल्दिभ्सका डिफेन्डर बाधक बनेको थियो ।

बराबरीसँगै समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा १ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक भएको छ । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायम छ ।
अब दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ ।
समूह 'बी'मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।
