एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक जोसे मोरिन्हो खेलाडी किनबेचमा सर्वाधिक खर्च गर्ने प्रशिक्षक बनेका छन् ।
ट्रान्सफर मार्केट युकेले निकालेको तथ्यांकअनुसार मोरिन्हो फुटबल इतिहासमै सर्वाधिक खर्चालु प्रशिक्षक बनेका हुन् ।
मोरिन्होले १९ वर्षको प्रशिक्षण करियरमा खेलाडी किन्न १.६ बिलियन पाउण्ड खर्च गरेका छन् । गत डिसेम्बरमा युनाइटेडबाट बर्खास्तमा परेका मोरिन्होले ९७ खेलाडी किन्न उक्त खर्च गरेका हुन् ।
स्पेसल वनको रुपमा चिनिने मोरिन्होले हालसम्म २५ उपाधि जितेका छन् । उनले युनाइटेड बाहेक चेल्सी, रियल मड्रिड लगायतका क्लब समेत रहेका छन् ।
यस्तै चेल्सीका पूर्व प्रशिक्षक कार्लो एन्सेलोटी दोस्रो स्थानमा छन् । उनले ८५ खेलाडी किन्न १.२ बिलियन खर्च गरेका छन् । त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेपे ग्वार्डीवालाले ५२ खेलाडी किन्न १.२ बिलियन खर्च गर्दै तेस्रो स्थानमा छन् ।
खेलाडी किन्न सर्वाधिक खर्च गर्ने प्रशिक्षकको चौंथो स्थानमा वेष्ट ह्यामका म्यानुएल पेल्लीग्रिनी रहेका छन् । उनले ८२ खेलाडीका लागि १.१ बिलियन खर्च गरेका छन् ।
युभेन्ट्सका पूर्व प्रशिक्षक मासिमिलियानो एलेग्री ८७ खेलाडी किन्न १ बिलियन खर्च गर्दै सर्वाधिक खर्च गर्ने प्रशिक्षकको सूचीको पाँचौं स्थानमा रहेका छन् ।
