काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले आज (शुक्रबार) बलियो टिम ताजिकिस्तानसँग खेल्दैछ ।
अघिल्ला दुई खेलमा १ अंक जोडेको नेपालले तेस्रो खेलमा आज ताजिकिस्तानसँग खेल्न लागेको हो । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ ।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा ताजिकिस्तानसँग मैदान उत्रदा नेपाल अंक खोस्ने लक्ष्यमा हुनेछ । तर, बलियो टिमविरुद्ध अंक जोड्न नेपाललाई निकै कठिन हुनेछ ।
ताजिकिस्तान नेपाललाई हराएर लगातार तेस्रो जित निकाल्न चाहन्छ । २ खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ । २ खेलमा १ अंक जोडेको नेपाल चौंथो स्थानमा छ ।
यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो ।
छनोट समूह 'ए' मा रहेको नेपालले अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।