काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको एसिया छनोट खेलिरहेको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु भएको छ ।
विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणका सुरुवाती दुई खेलपछि केहि दिन विश्राम लिएको नेपाली टोलीले मंगलबारबाट पुनः तयारी थालेको हो ।
छनोटमा अब नेपालले अक्टोबर १० मा अष्ट्रेलिया र अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु प्रशिक्षणको पहिलो दिन कप्तान किरण चेम्जोङ, रोहित चन्द र विमल घर्ति मगर उपस्थित भएनन् । रोहित व्यवसायिक फुटबलका लागि इन्डोनेसिया छन् भने विमल आज माल्दिभ्स जानेछन् । किरण घरायसी कामले उपस्थित नभएका हुन् ।
यसअघि नेपालले कुवेत र चाईनिज ताइपेसँग खेलिसकेको छ । नेपालले कुवेतसँग ७-० को हार व्यहोर्दा ताइपेलाई २-० ले पराजित गरेको थियो ।