एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा इंग्ल्याण्डले तेस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इंग्ल्याण्डले बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै तेस्रो जित निकालेको हो ।
इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे ।

घरेलु मैदान वेम्बली स्टेडियममा पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा पेनाल्टीमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २-० को अग्रता दिलाए ।

५५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्याण्डलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा इंग्ल्याण्डले ४-० को जित निकाल्यो ।
जितसँगै समूह 'ए' को इंग्ल्याण्डले ३ खेलबाट ९ अंक जोडेको छ । अपराजित रहेको इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पराजित बुल्गेरिया पाँच खेलबाट २ अंक जोडेर चौंथो स्थानमा छ ।

युरो छनोट अन्तर्गत नै यसै समूहमा रहेको कोसोभोले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएको छ ।
जितसँगै समूहको दोस्रो स्थानमा रहेको कोसोभोले ४ खेलबाट ८ अंक जोडेको छ ।