काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विश्वकप छनोट अन्तर्गत घरेलु टिम कुवेतसँग प्रतिस्पर्धा गर्न टिम तयार रहेको बताएका छन् ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले बलियो टिमविरुद्ध मैदान उत्रन टिम तयार रहेको बताए ।
'प्रशिक्षकले हामीलाई भनेका छन् कुवेत बलियो टिम हो । हामी उनीहरुलाई आदर गर्छौं । उनीहरुसँग प्रतिस्पर्धा गर्न हामी तयार छौँ । भोलिको खेलमा हामी रमाउने छौँ,' कप्तान किरणले भने ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले भोलि (बिहिबार) कुवेतसँग उसैको मैदानमा खेल्दैछ । नेपाल र कुवेतबीचको खेल जविर अल अहमेद इन्टरनेश्नल मैदानमा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
यस्तै कप्तान किरणले कुवेतसँगको खेलका लागि टिमले राम्रो तयारी गरेको समेत बताए ।
'हाम्रो तयारी राम्रो छ । हामीले दुई अभ्यास खेल समेत खेलेका थियौं,' किरणले थपे ।