काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको पहिलो खेलमा घरेलु टिम कुवेतलाई कडा चुनौती दिने बताएका छन् ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक कालिनले बलियो टिम कुवेतले कडा चुनौती दिने बताएका छन् ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले भोलि (बिहिबार) कुवेतसँग उसैको मैदानमा खेल्दैछ । नेपाल र कुवेतबीचको खेल जविर अल अहमेद इन्टरनेश्नल मैदानमा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
'हामीलाई थाहा छ कुवेत बलियो टिम हो । तर, हामी कडा चुनौती दिने छौँ,' प्रशिक्षक कालिनले भने, 'हामी हाम्रो उत्कृष्ट प्रदर्शन देखाउने छौँ ।'
फिफा विश्वकप छनोट अन्तर्गत पहिलो पटक सिधै दोस्रो चरण खेल्ने अवसर पाएको नेपालको राष्ट्रिय पुरुष फुटबल टिमले बिहिबार कुवेतसँग खेल्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोटको सुरुवात गर्दैछ ।
प्रशिक्षक कालिनले नेपालले सिमित स्रोत र साधनको बीच तयारी गरेको भएपनि राम्रो नतिजाका लागि खेल्ने बताए ।
'हामी सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछौं । हामीसँग राम्रो स्रोत र साधन छैन । खेलाडीले कडा महेनत गरेका छन् । हामी अघि बढ्ने छौं,' कालिनले थपे ।
बलियो टिम कुवेतविरुद्ध नेपालले ६ खेल खेलेको छ । तर, नेपालको प्रदर्शन उत्कृष्ट हुन सकेको छैन । नेपालले पाँच खेल गुमाउदा १ खेल बराबरी खेलको छ ।
पछिल्लो पटक कालिनकै नेतृत्वमा नेपालले चैत पहिलो साता कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो । कुवेतविरुद्ध नेपालको उत्कृष्ट नतिजा त्यहिँ हो । दोस्रो खेलमा भने १-० को हार व्यहोरेको थियो ।
कुवेतसँगको पछिल्लो नतिजाले पनि प्रशिक्षक उत्साहित रहेका छन् ।
'हामीले मार्चमा खेलेका थियौं । खेलाडीले त्यसमा राम्रो गरे । अहिले हाम्रो सुधार भएको छ,' कालिनले थपे, 'हामी नतिजाका लागि खेल्दैनौं । हामीलाई थाहा छ कि हामी अण्डरडग टिम हौँ । हामी सबै टिमलाई सम्मान गर्ने छौँ । तर, हामी डराएर खेल्दैनौं ।'