काठमाडौं । किर्गीस्तानमा आयोजना हुने 'नादेझ्दा कप' फुटबलमा नेपालले सहभागिता जनाउँदै छ ।
पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा नेपालसहित आयोजक किर्गीस्तान, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
यसै साता आयोजना हुने प्रतियोगिताको लागि १८ सदस्सीय खेलाडीसहितको नेपाली टोली बिहिबार त्यसतर्फ जानेछन् ।
नेपालले यस प्रतियोगितालाई घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेम्सको तयारीको रुपमा लिएको छ । सागमा सधै रजत पदकमा सिमित बन्दै आएको नेपाली महिला टिम पहिलो पटक घरेलु भूमिमा स्वर्ण जित्न चाहन्छ ।
सागमा स्वर्ण जित्ने लक्ष्य बनाएको नेपालले यस प्रतियोगिताबाट आफ्नो कमी कमजोरी केलाउने अवसरको रुपमा लिएको छ ।

'हाम्रो मुख्य लक्ष्य भनेको साग हो । सागको लागि हामीले एन्फासँग २ मैत्रीपूर्ण खेल मागेका थियौं । त्यसै स्वरुप हामीले नादेझ्दा कप खेल्न लागेको हो,' नेपाली टोलीको मुख्य प्रशिक्षक हरि खड्काले भने, 'यस प्रतियोगिताले हाम्रो कमि कमजोर र बलियो पक्ष केलाउने अवसर हुनेछ ।'
लामो समय प्रतियोगिता विहीन बनेको नेपालको लागि यस प्रतियोगिता ठुलो नभएपनि टोलीको कमि कमजोरी पत्ता लगाउन महत्वपूर्ण हुने प्रशिक्षक खड्काको भनाई छ ।
प्रशिक्षक खड्काले प्रतियोगितामा नेपालको लक्ष्य उपाधि जित्नु समेत रहेको बताए ।
'हाम्रो लक्ष्य साग हो । हाम्रो लागि यो प्रतियोगिता महत्वपूर्ण हैन । तर, हामी यो प्रतियोगितालाई आधार बनाएर अघि बढ्छौ,’ प्रशिक्षक खड्काले भने, 'प्रतियोगितामा सहभागिता जनााएपछि सबैको लक्ष्य उपाधि जित्ने नै हुन्छ । हामी पनि मेडलकै लागि खेल्छौ । उज्वेकिस्तान निकै बलियो छ । अन्य दुई टिमलाई हराउँदै फाइनल खेल्छौ ।’

नेपाली महिला टोलीले करिब पाँच महिनापछि पहिलो पटक प्रतियोगिता खेल्न लागेको हो । यसअघि नेपालले साफ च्याम्पियानिप र ओलम्पिक छनोटको दोस्रो चरण खेलेको थियो ।
यस्तै नेपालकी कप्तान निरु थापाले छोटो समयमा राम्रो टिम बनेको र सागमा राम्रो गर्न यस प्रतियोगिता महत्वपूर्ण रहेको बताईन् ।
'छोटो समयमा राम्रो टिम बनेको छ । सागको लागि राम्रो तयारी गर्ने अवसर हो,’ कप्तान निरुले भनिन्, 'प्रतियोगितामा उज्वेकिस्तान राम्रो टिम छ । उपाधिका लागि सक्दो राम्रो गर्ने प्रयास गर्छाै ।'

नादेझ्दा कपमा नेपालले घरेलु टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेलमा नेपालले किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।