एजेन्सी । युरोपको शीर्ष पाँच लिगले ग्रीष्मकालीन खेलाडी किनबेच (समर ट्रान्सफर विन्डो) मा कीर्तिमानी खर्च गरेका छन् ।
लेखापरीक्षण तथा लेखा सम्बन्धमा प्राविधिक सेवा उपलब्ध कम्पनि डेलोइटले सार्वजनिक गरेको तथ्यांक अनुसार युरोपको शीर्ष पाँच लिगले खेलाडी अनुबन्धमा कीर्तिमानी खर्च गरेको देखिएको छ । युरोपियन ट्रान्सफर विन्डो सोमबार रातिबाट बन्द भएको थियो ।
डेलोइटको अनुसार समर ट्रान्सफर विन्डोमा इन्ग्लिश प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी 'ए', जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग वान लिगले ५ बिलियन पाउण्ड खर्च गरेको छ । जुन अघिल्लो सिजनको भन्दा ८ सय मिलियन पाउण्ड बढी हो ।
यस वर्षप्रिमियर लिगका क्लबले सर्वाधिक बढी रकम खर्च गरेको छ । सबैभन्दा कम खर्च भने लिग वान क्लबले गरेको छ ।
यस वर्ष प्रिमियर लिगले १.४१ बिलियन पाउण्ड खर्च गरेको छ । यस्तै ला लिगाले १.२४ बिलियन, सिरी 'ए' ले १.०६ बिलियन, बुन्डेस लिगाले ६७० मिलियन र लिग वानले ६०५ मिलियन पाउण्ड खर्च गरेको छ ।
