काठमाडौं । किर्गीस्तानमा आयोजना हुने 'नादेझ्दा कप' फुटबलका लागि त्यसतर्फ जाने नेपाली टोलीको विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार २४ सदस्सीय नेपाली टोलीको विदाई गरेको हो ।
नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश सिलवाल लगायत एन्फा पदाधिकारीले विदाई गरे । नेपाली टोली बिहिबार किर्गीस्तान प्रस्थान गर्ने छन्
नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले घरेलु टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेलमा नेपालले किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले यस प्रतियोगितालाई नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेम्सको तयारीको रुपमा लिएको छ ।
मंसिर १५ बाट २४ सम्म आयोजना हुने सागको महिला फुटबल पोखरामा रंगशालामा हुनेछ ।