एजेन्सी । म्यानचेष्टर युनाईटेडका फरवार्ड एलेक्सिस साञ्चेजले ओल्डट्राफोर्ड क्लब आएकोमा आफुलाई कुनै पश्चताप नभएको बताएका छन् । उनले आफु सफल हुन पर्याप्त समय नपाएको भने गुनासो गरेका छन् ।
३० बर्षका चीलीका फरवार्ड यसै सिजन लोनमा ईटालियन क्लब ईन्टर मिलान गएका छन् । म्यान यु आएको १९ महिनापछि उनी लोनमा मिलान क्लब गएका हुन् ।
उनी म्यान युका सर्वाधिक कमाई गर्ने खेलाडी थिए । उनले हप्ताको ४ लाख पाउण्ड तलब बुझ्ने गर्दथे । तर उनले ४५ खेलमा मात्र ५ गोल गर्न सके । उनी सन् २०१८ को जनवरीमा लण्डन क्लब आर्सनलबाट युनाईटेड आएका थिए ।
'जब म युनाईटेड आए, म धेरै खुसी थिए ।' साञ्चेजले भनेका छन् ।
'मैले सधै भन्ने गरेको छु, यो त्यही क्लब हो, जसले ईङ्ल्याण्डमा धेरै जितेको छ ।' उनले थपे ।
'जब म आर्सनल गएको थिए, त्यो निकै उत्कृष्ट थियो । म त्यहाँ निकै खुसी थिए । तर त्यो समय म युनाईटेडतर्फ बढिरहेको थिए । उनीहरु केही जित्नका लागि खेलाडीलाई किनिरहेका थिए ।' उनले थपे, 'केही जित्नका लागि म समेत उनीहरुसंग जोडिने ईच्छा राखे । तर मलाई त्यहाँ गएर कुनै पश्चताप छैन ।'

साञ्चेजले आर्सनलमा रहदाँ १ सय ६६ खेलमा ८० गोल गरेका थिए । उनी सन् २०१४ मा बार्सिलोनामा ३० मिलियन पाउण्डमा आर्सनल आएका थिए । उनी सन् २०१७ मा प्रोफेसनल फुटबलर्स एसोसियसन प्लेयर्सको बर्ष खेलाडीमा समेत मनोनयनमा परेका थिए ।
तर पछिल्लो समय साञ्चेज निकै खराब समयबाट गुज्रिरहेका थिए ।
उनले गत सिजन २७ खेलमा मात्र २ गोल गरेका थिए । तर उनकै प्रभावमा चीलीले कोपा अमेरिकामा सेमिफाईनल सम्मको यात्रा तय गरेको थियो । जहाँ उनले दुई गोल गरेका थिए ।
'मलाई लाग्छ, जब म राष्ट्रिय टिमबाट खेल्छु, निकै खुसी महशुश गर्छु ।' उनले भने, 'त्यस्तै युनाईटेडबाट समेत खुसीको महशुश गर्छु । तर मैले सधै साथीहरुलाई भन्ने गरेको छु, म खेल्न चाहन्छु ।'
'यदी उनीहरु मलाई खेल्न दिन्छन् भने म आफ्नो उत्कृष्ट दिने गर्छु । कहिले काही यदी म ६० मिनेट खेल्छु भने म फरक खेल खेल्दिन । र मलाई किन भन्ने थाहा छैन ।' उनले थपे ।

मिलान जानु अघि साञ्चेज प्रि–सिजन म्याचमा सहभागी भएनन् । प्रशिक्षक आले गुनर सोल्सायरले उनीलाई लिगको तीन म्याच समेत खेलाएनन् ।
तर चीलीका खेलाडीले कोपा अमेरिकापछि आफु खेल्ने अवस्थामा रहेको बताए ।
'मैले राम्रो महशुश गरेको थिए ।' उनले भने, 'मलाई लाग्छ, मैले कोपामा राम्रो गरेको थिए ।'