काठमाडौं । साफ यू–१५ फुटबल च्याम्पियनसिप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले अहिले भुटानको सामना गरिरहेको छ ।
भारतको कोलकत्तास्थित कल्याणीमा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भुटानविरुद्ध २–० गोल अन्तरको अग्रता बनाएको छ ।
पहिलो हाफमा नेपालका लागि कप्तान प्रदिप लम्साल र निराजन खत्रीले एक एक गोल गरेका छन् ।
खेलको ५ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै कप्तान लम्सालले नेपाललाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ९ औं मिनेटमा खत्रीले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । फ्रिकिक बल भुटानी टिमले क्लियर गर्न नसक्दा खत्रीले गोल गरेका थिए ।
उपाधि जित्ने लक्ष्यसहित भारत गएको नेपाली टोलीलाई फाइनल पुग्न भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ ।
प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।
अपराजित भारत ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ६ अंक जोडेर तेस्रो स्थानमा छ ।