काठमाडौं । नेपाली राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटका सुरुवाती दुई खेल गुमाउने भएका छन् ।
त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका भरतले विभागीय तालिमको कारण विश्वकप छनोटका दुई खेल गुमाउने भएका हुन् । आर्मी तालिमका लागि भरत अहिले थाईल्याण्डमा रहेका छन् ।
थाईल्याण्डमा रहेका भरतले खेलपाटीसँग कुरा गर्दै दुई खेलका लागि आफु नेपाली टिममा उपलब्ध नहुने बताए ।
‘थाईल्याण्डको प्रशिक्षणमा व्यस्त छु । नेपालको सुरुवाती दुई खेल भने खेल्न पाउँदिन,’ थाईल्याण्डमा रहेका भरतले भने ।
विश्वकप छनोट अन्तर्गत नेपालले भदौको १९ गते कुवेत र २४ गते चाईनिज ताईपेसँग खेल्दैछ । ताईपेसँग खेल भन्दा ३ दिन अघि भदौ २१ मात्र भरत नेपाल फर्कने छन् ।
ताईपेसँगको खेल अघि नै स्वदेश फर्किने भएपनि तीन दिनमा आफु पूर्ण फिट हुन नसक्ने भरतले बताए ।
‘पहिलो खेल खेल्न भ्याउदिन । नेपाल आएको तीन दिन पछिनै नेपालको खेल छ । त्यसको लागि म पूर्ण फिट हुन सक्दिन,' भरतले थपे,'त्यसैले दुई खेल खेल्न पाउँदिन ।’
भरतले कुवेत र ताईपेसँगको खेलपछिको खेलमा भने टिममा पर्न आफुले प्रयास गर्ने बताए । स्विडिस प्रशिक्षक जोहान कालिनले कुवेत र ताईपेसँगको खेलको प्रशिक्षणमा भने भरतको नाम राखेको थियो ।
‘लगातार दुई खेल बाहिर रहन्छु । त्यसैले टिममा पर्न तयारी गर्छु । त्यसपछिका दुई खेलमा टिममा पनि संघर्ष गर्छु ।’ भरतले भने ।
नेपालले असोज २३ मा अष्ट्रेलिया र २८ गते जोर्डनको सामना गर्नेछ । त्यस खेलका लागि भने भरत टिममा पर्न संघर्ष गर्ने छन् ।