काठमाडौं । बाँकेले प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाकाे बेलझुण्डी रंगशालामा मंगलबार बाँकेले बर्दियालाई ३-१ गोलले पाखा लगाउँदै पराजित यात्रा कायम राख्यो ।
बाँकेको जितमा विक्रम ठकुरीले ह्याट्रिक गरे । बर्दियाका ठागु चौधरीले एक गोल फर्काए । यो जितसँगै बाँके लिगमा अपराजित एक मात्रै टिम छ ।
यस्तै अर्को खेलमा रूपन्देहीले दाङलाई १-० ले हराएको छ । रुपन्देहीको जितमा निशान सुनारले निर्णायक गोल गरे।
जितसँगै रुपन्देहीले लिगको अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको छ ।
नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा जारी मुख्यमन्त्री फुटबल प्रतियोगिता लिगमा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि कुल ६ जिल्लाको सहभागिता रहेको छ ।