काठमाडौं । दाङ र रुपन्देहीले तुलसीपुरमा जारी प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल लिगमा जित निकालेका छन् ।
तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीस्थित रंगशालामा सोमबार दाङले रोल्पालाई २-० गोलले पाखा लगायो । दाङको जितमा गणेश नेपाली र किरण योगीले एक एक गोल गरे ।
यस्तै, रुपन्देहीले नवलपरासीलाई २-१ गोल अन्तरले पराजित गर्यो । रुपन्देहीको जितमा पूर्णबहादुर श्रेष्ठ र विश्व थापाले एक एक गोल गरे । नवलपरासीका प्रदीप चौधरीले एक गोल फर्काए ।
प्रतियोगिता अन्तर्गत मंगलबार बाँके र बर्दियाले प्रतिस्पर्धा गर्ने छन् । यस्तै अर्को खेलमा दाङ र रुपन्देहीबीच खेल हुनेछ ।
नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा जारी लिगमा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि कुल ६ जिल्लाको सहभागिता रहेको छ ।