एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको खेलमा मुख्य फरवार्डद्वय केलियन एम्बाप्पे र ईडिसन काभानी घाईते भएका छन् । आईतबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ४–० गोल अन्तरले हरायो ।
खेलको १४ औ मिनेटमा काभानी चोट बोक्दै मैदान बाहिरिएका थिए । एम्बाप्पे समेत दोस्रो हाफमा थाईमा समस्या आएपछि मैदान छाडेका थिए ।
एन्जल डी मारियाले पेनाल्टी खेर फाल्दा समेत घरेलु मैदानमा पीएसजीले सहज जित निकाल्न सफल भयो । मुख्य खेलाडी नेयमारबिनै मैदान उत्रिएको पीएसजीलाई चौपो मोटिङले ५० औ मिनेटमा सुरुवाती अग्रता दिलाए ।

गोन्साल्वेसको आत्मघाति गोलबाट पीएसजीले ५५ औ मिनेटमा अग्रतालाई दोब्बर पार्यो । मोटिङले ७५ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता तेब्बर पारे । मार्किन्होसले ८३ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ४–० को प्रभावशाली जित दिलाए ।
मुख्य प्रशिक्षक थोमस टुचेलले नेयमार बिनाको टिमलाई मैदान उतारेका थिए । यसै सिजन पेरिस छाड्ने तयारी गरेका नेयमार बिनाको टिमलाई टुचेलले मौका दिने गरेका छन् ।
पीएसजी ३ खेलबाट ६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । टुलुज ३ खेलबाट ४ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।