काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले कप्तान बिराज महर्जनलाई टिम बाहिर राखेका छन् ।
फिटनेसको कारण देखाउँदै मुख्य प्रशिक्षक कालिनले डिफेन्डर समेत रहेका कप्तान बिराजलाई टिम बाहिर राखेका हुन् ।
प्रशिक्षक कालिनले खेलाडीको फिटनेसलाई मुख्य जोड दिदै आएका छन् । अनफिट खेलाडीलाई लिएर उनले कुनै जोखिम उठाउन चाहेका छैनन । यसअघि उनले विमल घर्तिमगर र भरत खवासलाई टिम बाहिर राखेका थिए ।
अभ्यासका दौरान प्रशिक्षक कालिनले फिटनेसमा सुधार गर्न बिराजलाई बारम्बार आग्रह गरेका थिए । उनले यथास्थितमा टिममा समावेश गर्न नसकिने भन्दै फर्ममा देखिन चेतावनी समेत दिएका थिए । तर,फिटनेसमा सुधार आउन नसकेपछि बिराज टिम बाहिर रहन गएका हुन् ।
सोही कारण विश्वकप छनोटको तयारीका लागि मलेसियाको क्लबसंग हुने मैत्रीपूर्ण खेल उनले गुमाउनेछन् । नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।
मैत्रीपूर्ण खेलका लागि स्ट्राइकर विमल घर्तिमगरले भने राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । अघिल्लो पटक फिटनेसको समस्याले टिमबाट फालिएका उनले राष्ट्रिय टिममा ‘कमब्याक’ गर्न सफल भएका छन् ।
माल्दिभ्सको टिसी स्पोर्ट्सबाट ब्यवसायीक फुटबल खेलिरहेका उनले पछिल्लो समय क्लबका लागि गोल समेत गरिरहेका छन् ।
ईन्डोनेसियामा लिग खेलिरहेका रोहित चन्द र जापानको जे लिगमा ट्रायल दिईरहेका किरण चेम्जोङलाई भने टिममा समावेश गरिएको छैन ।
क्लबसंग मैत्रीपूर्ण खेल भएका कारण रोहितलाई नबोलाईएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । जे लिगमा ट्रायलमा रहेका किरणको समय अभावका कारण मैत्रीपूर्ण खेलमा समावेश नगरिएको एन्फाको भनाई छ ।
किरण र रोहित भने विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्वको खेलमा भने टिममा रहनेछन् । यता पछिल्लो पटक टिममा नपरेका भरत खवास यतिबेला थाईल्याण्डमा शैन्य अभ्यास गरिरहेका छन् । उनले विश्वकप छनोट अन्तर्गत कम्तीमा दुई खेल गुमाउने पक्का छ ।
टिममा मिडफिल्डर हेमन गुरुङ र दिनेश राजवंशीले समेत कमब्याक गर्न सफल भएका छन् । यस्तै राष्ट्रिय टिममा तेज तामाङले धेरै पछि कमब्याक गरेका छन् । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप पछि उनले टिममा स्थान बनाएका हुन् ।