एजेन्सी । युईएफए सुपर कपमा नायक बनेका लिभरपुलका गोलकिपर एड्रियनले प्रिमियर लिग अन्तर्गत साउथह्याम्पटनविरुद्धको खेल गुमाउने भएका छन् ।
चेल्सीविरुद्धको सुपर कपमा एक पेनाल्टी रोक्दै लिभरपुललाई उपाधि दिलाउन सफल गोलकिपर एड्रियनले चोटको कारण साउथह्याम्पटनसँगको खेल गुमाउने भएका हुन् । एड्रियनले पेनाल्टी सुटआउटमा चेल्सीका टामी अब्राहीमको पेनाल्टी रोक्दै लिभरपुललाई सिजनको पहिलो उपाधि दिलाएका थिए ।
लिभरपुलका मुख्य प्रशिक्षक जोर्गेन क्लोपले एड्रिनले चेल्सीविरुद्धको खेलमा चोट बोकेको बताएका छन् । जसको कारण उनले साउथह्याम्पटनविरुद्धको खेल खेल्न सम्भावना कम रहेको प्रशिक्षक क्लोपले बताए ।

'समर्थकसँग खुसी मनाउने क्रममा उनि उफ्रिएका थिए । जसको कारण उनको एङ्कलमा चोट लाग्यो । उनको एङ्कल फुलिएको छ । हामी हेर्छौं के हुन्छ,' साउथह्याम्पटनविरुद्धको खेलअघि क्लोपले भने ।
पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको लिभरपुलले शनिबार साउथह्याम्पटनसँग खेल्दैछ । तर, दोस्रो रोजाईका गोलकिपर पनि घाइते भएपछि लिभरपुल समस्यामा परेको छ ।
यसअघि पहिलो खेलमा चोट बोकेपछि पहिलो रोजाईका गोलकिपर एलिसन बेकर पनि मैदान बाहिर रहेका छन् । अब साउथह्याम्पटनविरुद्ध लिभरपुलले एन्डी लोनेर्गनलाई मैदान उतार्ने सम्भावना रहेको छ ।