एजेन्सी । साविक विजेता बार्सिलोनाका स्टार लियोनल मेस्सीले स्पेनिस लिगको पहिलो खेल गुमाउने भएका छन् । शुक्रबार क्याटलान क्लबले ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिल्वाओसंग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाका मुख्य प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले मेस्सीलाई लिएर आफुले कुनै जोखिम उठाउन नचाहेको प्रष्ट पारेका छन ।
अर्जेन्टिनी स्टारले टिम भन्दा बाहिर रहेर छुट्टै अभ्यास गरिरहेका छन् । उनी पिँडुलाको चोटबाट निको हुने प्रयास गरिरहेका हुन् ।
मेस्सी कोपा अमेरिकामा व्यस्त भएका कारण उनी अगष्टमा नियमित अभ्यासमा आउन सकेनन् । तर प्रि–सिजन टूर अघि उनले अभ्यासको क्रममा चोट बोकेका थिए ।
बार्सिलोनाका कप्तान मेस्सीले अमेरिका टूर गुमाएका थिए । उनले नापोलीविरुद्वको दुई मैत्रीपूर्ण खेल गुमाएका थिए । क्लबले शुक्रबार हुने पहिलो लिग खेलमा मेस्सी नहुने प्रष्ट पारेको छ ।
प्रशिक्षक भाल्भर्डेले ला लिगाको उपाधि रक्षामा मेस्सीलाई लिएर कुनै जोखिम नलिएको प्रष्ट पारे ।
‘हामी कुनैपनि खेलाडीलाई लिएर जोखिम लिदैनौ । यदी उनी मेस्सीनै भएपनि ।’ बार्सा प्रशिक्षकले भने, ‘उनी अभ्यासमा आएको हामीले देखेका छौ । तर उनी टिमसंग खेलेका छैनन् ।’
‘उनी व्यक्तिगत रुपमा सुधारको प्रयास गरिरहेका छन् । उनी निको हुने चरणमा छन् । हामी अभ्यासको अन्तिम चरणसम्म हेर्नेछौ ।’ उनले थपे ।
उनले समग्रमा प्राप्त नतिजाले बार्सिलोनाले राम्रो गरिरहेको समेत बताएका छन् ।
‘सबैसंग लक्ष्य हुन्छ । हामी सबै भन्दा राम्रो गर्न चाहन्छौ ।’ उनले भने, ‘ठुलो खेलमा तिमी आफ्नो स्तर उकास्न चाहन्छौ । तर तिमी सधै स्तर बढाउने बिषयमा सोचिरहेका हुनेछौ ।’
‘गत सिजन हामीले केही उत्कृष्ट खेल खेल्यौ । केही राम्रो भएनन् । यदी मैले मेरो विगत दुई बर्षलाई नियाले भने हामीले मात्र चार लिग खेल गुमाएका छौ । मलाई लाग्छ, हामीले पहिल्यै उपाधि जितेका छौ । त्यसैले मलाई लाग्छ, हामीले धेरै कुरा सही गर्दैछौ ।’ उनले थपे ।