काठमाडौं । चीनको शिन्दाओ शहरमा जारी गोथिया कप फुटबलमा नेपालको जुनियर फुटबल एकेडेमी (जेएफए) ले सहभागिता जनाएका छन् ।
युवा र किशोर (युथ) फुटबल खेलाडीको लागि विश्वकप सरह मानिने उक्त प्रतियोगितामा नेपालका १२ वर्ष मुनीका १६ जना साना फुटबल खेलाडीहरु रमाईरहेका छन् ।
प्रतियोगितामा आयोजक चीन, नेपालसँगै अमेरिका, जापान लगायत विश्वका ५० भन्दा बढी मुलुकका ५ हजार भन्दा बढी किशोर र युवा फुटबल खेलाडीले भाग लिएका छन् ।
जुनियर फुटबल एकेडेमी नेपालका अध्यक्ष एवम् काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काको नेतृत्वमा एकेडेमीका प्रमुख प्रशिक्षक प्रज्ज्वल प्रताप क्षेत्री, अफिसियल सुवाश गौली र सहायक प्रशिक्षकद्वय नरेश रावल र प्रशान्त महर्जन चीनमा रहेका छन् ।
नेपाली टोलीले विभिन्न ४ वटा मुलुकका फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेलिसकेका छन् । प्रतियोगिता यही १८ अगस्टसम्म सञ्चालन हुने छ ।