एजेन्सी । प्रि–सिजन टूर अन्तर्गत मैत्रीपुर्ण खेलमा रोमाले रियल मड्रिडलाई पराजित गरेको छ । आईतबार राति भएको खेलमा रोमाले रियललाई पेनाल्टी सुटआउटमा हराएको हो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । जसमा रोमा ५–४ ले विजयी बन्यो ।
रियलका मार्सेलोको प्रहार असफल भएपछि ईटालियन क्लब विजयी बनेको हो ।

खेलको १६ औ मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई अग्रता दिलाए । ३४ औ मिनेटमा डिएगो पेरोट्टीले खेल बराबरीमा ल्याए ।
३९ औ मिनेटमा केसमिरोले खेललाई २–१ ले अघि बढाए । ४० औ मिनेटमा इडेन जेकोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
ग्यारेथ बेललाई रियल प्रशिक्षक जिनेदिन जिदानले मौका दिएका थिए । उनले करिब आधा घण्टा जति मैदानमा बिताएका थिए । चीनियाँ क्लब जान असफल भएपछि बेल पहिलो पटक रियलबाट मैदान उत्रिएका हुन् ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले खेलमा अझै सुधार हुने अपेक्षा गरे । रियल अझै फ्रान्सेली क्लब पीएसजीका स्टार नेयमारलाई ल्याउने बिषयमा सोचिरहेको छ ।